मुख्य मन्त्री लालबाबु राउतले “मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई आज साइकल प्रदान गर्नु भएको छ । जनकपुरधाम स्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत १ सय १४ जना छात्राहरूलाई मुख्यमन्त्री राउतले साइकल प्रदान गर्नु भएको हो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको बताउनु भयो । वहाँले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनु भयो । त्यसैगरि सामाजिक विकास मन्त्री नवल किशोर साहले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढि रहेको उल्लेख गर्नुभयो । प्रदेश सभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, जयनुल राइन, प्रमिला देवी दास, चमेली देवी दास सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नं. २ भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा पढने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।